तिहार भन्नेबित्तिकै सबैको मनमा आउने मीठो परिकार हो, सेलरोटी। यो केवल खानेकुरा मात्र होइन, नेपाली संस्कृति, कृषि जीवनशैली र पारिवारिक सम्बन्धको एउटा महत्वपूर्ण पहिचान पनि हो। दसैँमा मासुको महत्व भएजस्तै तिहारमा सेलरोटीको आफ्नै विशेष स्थान छ।
खाद्य विश्लेषक शारदा ज्ञवालीले सेलरोटीलाई नेपाली रैथाने खानाको चिनारी बताउँदै यसलाई मौलिक रूपमै जोगाउनुपर्ने बताइन्। पछिल्लो समय सेलरोटीमा सुजी र चिउरा मिसाएर पकाउने चलन बढेको भन्दै उनले यस्तो अभ्यासले मौलिक स्वाद बिग्रने जानकारी दिइन्। त्यस्तै, सेफ श्याम लामा र मुख्य भान्से गोविन्द नरसिंह केसीले नेपाली खानाको बनाउने विधि र मापदण्ड लिखित रूपमा राख्नुपर्नेमा जोड दिए। केसीले सेतो चिनीको सट्टा सखर वा चाकु र मसलाको रूपमा सुकुमेल र अलैँची राख्दा सेलरोटी थप स्वादिलो र स्वास्थ्यवर्धक हुने बताए। अत्यधिक तेलको सट्टा घिउमा पकाएको सेलरोटी स्वास्थ्यका लागि राम्रो हुने उनीहरूको सुझाव छ।
पर्यटन व्यवसायी राजन सिंखडाले सेलरोटीको इतिहास र महत्वलाई विश्वसामु चिनाएर पर्यटनसँग जोड्नुपर्ने बताए। सेलरोटीको मौलिकता जोगाउन र नयाँ पुस्तालाई सिकाउन पछिल्लो समय विभिन्न प्रतियोगिताहरू पनि हुन थालेका छन्। भर्खरै सम्पन्न ‘भोजन लिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता’मा कोपिला अधिकारी प्रथम भइन्। धापासीमा आयोजना गरिएको रैथाने व्यापार मेलामा पनि यस्तै प्रतियोगिता गरिएको थियो। यस्ता प्रतियोगिता र मेलाले स्थानीय रैथाने खानाको संरक्षण गर्दै कृषि पर्यटन बढाउन मद्दत पुग्ने सरोकारवालाहरूले बताएका छन्।

















Discussion about this post