तिहारको बेला मादल, बाँसुरी र खैँजडी बजाएर खेलिने देउसीभैलोमा अचेल आधुनिक गीत र प्रविधिको प्रभाव बढेको छ। बागलुङ बजारका चोक र बस्तीमा रेकर्ड गरिएका गीत ठूलो आवाजमा बजाएर देउसी खेल्ने चलन बढेसँगै यसको मौलिकता हराउँदै गएको हो।
पहिले सोरठी, मारुनी, कौरा र झ्याउरे जस्ता मौलिक भाकामा गाउँघरका सुखदुःख समेटेर देउसीभैलो खेलिन्थ्यो। तर अहिले भने आधुनिक शैली हाबी हुँदा परम्परागत नाच र भाका सङ्कटमा परेका छन्। स्थानीय प्रेम श्रेष्ठले नयाँ पुस्ताले चासो नदिँदा देउसीभैलोको पहिचान कमजोर बन्दै गएको बताए। उनले पहिले मौलिक बाजा बजाएर सामाजिक सन्देश दिने गरिए पनि अहिले देउसीभैलोमा विकृति मिसिएको बताए।
अर्का स्थानीय रबीप्रसाद शर्माले पनि देखासिकीका कारण मौलिकता हराएको बताउँदै नेपाली समाजको यो पहिचान जोगाउनुपर्नेमा जोड दिए। बजारमा धेरैजसो आधुनिक शैलीमा रमाए पनि भकुण्डे टोल समूह जस्ता केही समूहले भने पुराना भाका सिकेर परम्परागत शैलीमै देउसीभैलो खेलिरहेका छन्। मौलिक बाजा र भाकाको संरक्षण नभए तिहारसँग जोडिएको सांस्कृतिक पहिचान नै कमजोर बन्ने चिन्ता स्थानीयमा बढेको छ।

















Discussion about this post